मनोज बिश्वकर्माको पन्ध्र प्रेम कबिताहरू
१.शब्द
संवाद गर्न समेत मुस्किल थियो
संवेगहरूको जञ्जाल थिएँ
भावहरू
बाटो फेला नपरेको बटुवा जस्तै थिएँ
जब म अक्षर थिए
तिमी पनि बेअर्थको अक्षर थियौ
थियौँ सिम्फोनीबिहिन
त्यसपछि
हाम्रो समास भयो !
२.केही कुरा आधा नै सुन्दर हुन्छ
केही कुरा आधा नै सुन्दर हुन्छ
जस्तो तिम्रो शिरबाट खसेको झरना
पिठ्युको छेउछाउ नपुग्दै रोकिनु ,
जस्तो तिम्रो ओठबाट खसेको प्रेमिल स्वर
जीवनको किनार नछुदै रोकिनु ,
जस्तो कि तिम्रो र मेरो सम्बन्ध ...
केही कुरा आधा नै सुन्दर हुन्छ
जस्तो कि आकाशमा आधा मुस्कुराएको जून ,
जस्तो कि आधा घाम आधा पानी मिसिएर टाँगिएको ईन्द्रेणी ,
जस्तो कि आधा अनुहार देखाएको कुनै हिमाल ,
केही कुरा आधा नै सुन्दर हुन्छ
जस्तो कुनै यात्रामा भेटिएको सुन्दर मानिसको नाम छुट्नु ,
जस्तो कुनै प्रिय गित हजार पटक सुनेँ पनि आधै रहनु ,
जस्तो कुनै पढ्दै गरेको कबिता अाधामै सक्किनु ....
३. मौनता
तिम्रो मौनताको गहिराईमा-घृणा भए
म मेट्नेछु-
प्रेमको उचाईले!
तिम्रो मौनताको गहिराईमा-प्रेम छ भने
म समेट्नेछु-
प्रेमको उचाईले!
तिम्रो मौनताको गहिराईमा
सिर्फ मौनता छ भने
म अाफैलाइ मेट्नेछु-प्रेमको उचाईले!
४.प्रेमी
अघिल्लो जन्म थियो पोखरीमा
हिलोमा उफ्रियो
सुस्तायो लेउको नरम भुवामा
त्यो स्यानो पोखरी नै सिङ्गो धरतिजस्तो
सिङ्गो धरति नै पोखरी जस्तो
जिउन सिक्यो चाहे जसरी
मर्यो चुपचाप
अहिले फेरि एउटा जन्म छ उसगँ
मानिसको रुपमा
हेर्न
सिङ्गो धरति छ
उड्न
सग्लो आकाश छ
उ भने चुपचाप खपिबस्छ
चिसो यादहरू
डुबिबस्छ त्यसकै पोखरीमा !
५.क्रमभंग
तिम्रा हरेक उपेक्षाहरूमा
मैले शब्दहरू गुमाएको छु
तिम्रा हरेक अविश्वासहरूमा
मैले आफ्ना आँखाहरू पगालेको छु
आज तिम्रो साथमा अरू नै कोई देखें
त्यहि छाडि आए आफ्ना आँखाहरू
जो थिए कैयौ दिनदेखिका अनिदा
जो चाहान्थे निदाउन त्यहि कुममा अडेसिएर !
६. तिम्रो प्रेममा
तिम्रो प्रेममा
कैदि बनेर
बेर्नु परे पनी आँखाभरि अन्धकार
फाँसी दिनु परे पनी हरेक दृश्य
म तयार छु!
बस
तिमी फिजाईदेउ केश
म निदाऊ त्यहाँ!
तिम्रो प्रेममा
नदि बनेर
बग्नु परे पनी तातो हिमालभरि
जम्नु परे पनी न्यानो समथरभरि
म तयार छु!
बस
म बगुँ
तिमी थामिदेउ छाल
म थामुँ
तिमी बग्नु मेरो आत्माभरि!
तिम्रो प्रेममा
बादल बनेर
डुल्नु परे पनी आकाशै आकाश
डुल्दा डुल्दै ठोकिनु परे पनी पहाडसगँ
म तयार छु!
बस
म टुक्रिउ
सम्हाल तिमी
म चुहिउँ
समाहित गर तिम्रो धरतिमा!
![]() |
चित्रकार सुनिल सिग्देलको फेसबुक वालबाट |
७. जब तिमीले छोयौँ
मेरो टाउकोमा
दुई स्याना खोपिल्टा थिए
त्यहाँ
गुड्दै गुड्दै अाउथेँ हजारौँ हजार पृथ्वी
र हराउँथे
जब तिमीले छोयौँ-त्यहाँ टासिँए सपनाहरु!
मेरो खुट्टाका नटबल्टु
फुस्किसकेका थिए
या
मसँग खुट्टा नै थिएन
जब तिमीले छोयौँ
बग्न थालेँ म
त्यहीँ सपनाको लिकमा!!
जब तिमीले छोयौँ -कोसौँ दूर बसेर
मैले छामेँ अाफैलाई
ताछेँ-अाँखाका बोक्राहरु
रत्ताम्मे पारेँ-शरिरका कोषहरुलाई
र त्यहाँ कैद गरे तिम्रो स्पर्श!
मसँग
थिएन जस्तै एउटा मुटु थियो
जब तिमीले छोयौँ
ढुकढुकाईरहेछ-
ढुकढुक
ढुक ढुक!!
८. जून
तिम्रो आँखा
कुनै निलो समुद्र
मेरो आत्मा
छप्ल्याङ्ग छुप्लुङ्ग छप्ल्याङ्ग छुप्लुङ्ग
डुबिदियो त्यसमै
प्रेम बोकेर
डुब्दा डुब्दै डुब्दा डुब्दै
पुगिदियो पिधमै
त्यतिबेला
तिमीले चुपचाप निकालि दियौ
मेरो अराजक सास
मुटुबाट
र भन्यौ-"अब आईन्दा नधड्किनु कुनै जूनको लागि!"
९ईच्छा
म खसेँ पनि धरतिभन्दा नि तल तल
या मेटिएँ पनि क्षितिजभन्दा नि पर पर!
लिपिन पाऊ
तिम्रो आँखाको डिलमा
बाक्लो परेली झै!
टासिनँ पाऊ
तिम्रो ओठको रक्तिम बाटोमा
मुस्कान झै!
तिम्रो सासहरुको सिम्फोनीमा
डुब्दै डुब्दै पुगुँ
धडकन बस्ने ठाउँमा !
१०.भगवान
एउटा मौनता तिमीसँग छ !
एउटा मौनता मसँग छ !
तिम्रो आकाशमा टाँगिएको ताराले
हेर्दैन तिमीलाई
तिम्रो जून
सधै सधै तर्किएर हिड्छ तिमीसगँ
लुकेरै उदाउछ
तिम्रो घाम तिम्रो भूगोलबाट !
तिमी
जसको लागि धरतिको सबैभन्दा सुन्दर फूल सिउरि रहेकी छौँ केशमा
तिमी
जसको लागि हेरिरहेकी छौ बेदाग अनुहार
श्रृगारको अनुपम गहिराईबाट
उसले हेर्दैन तिमीलाई !
तिमी
जुन भगवानलाई पुजा गरिरहेकी छौँ मन-मन्दिरमा
उ भड्किरहन्छ सहरका कुरुप सहरहरुमा !
मेरो आकाशमा टाँगिएको ताराले पनि
हेर्दिनन् मलाई
मेरो जून पनि सधैं सधैं तर्किएर हिड्छे मसँग
मेरो घाम पनि लुकेरै उदाउछ मसँग
मेरो भगवान
स्वयम् पुजिरहेछिन अर्कै भगवानलाई !
एउटा मौनता मेरो भगवानसँग छ !
एउटा मौनता मसँग छ !
११.स्पर्श
जब तिमीले छोयौँ
मभित्रको झुसिलकिरा मर्यो
मृत झुसिलकिराको आत्मा उड्यो
रङ्गीन पुतली बनेर ।
स्पर्श-२
केही यात्रा थिए
जो बाटोमै छुटि गए ।
केही सम्झना थिए
बिर्सनेहरू बोकेरै बेपत्ता भए ।
केही सम्बोधनहरू थिए
सम्बन्धको डायरीमै च्यापिए ।
र पनि ,
बाटोमा भेटिने मानिसहरूसँग मुस्कुराउन सिकेँ
बाटोमै अलपत्र छाडिएका फूलहरू उठाउन सिकेँ
तिमीले नछोई दिएको भए जीवन यति सुन्दर हुने नै थिएन...
१३.बियोग
जब हृदय हल्लियो हत्केलामा
अन्तिम धड्कन बनेर
शब्दहरु चुपचाप अड्डिए
आखाँमा आँसु जस्तै !
आशुँले खस्न बिर्सिसकेछ
आखाँको हागाँबाट
सायद
यतिञ्जेल जीवनको रूखबाट
चुड्डिसकेका थिए अनगिन्ति हरिया पातहरू !
डियर!
हरिया पातहरू
छाडि जानू अघि
तिमीलाई दिनु थियो छातीभित्र फुलेको फूल
तर
तिमी हिड्नु
र , मेरो ईश्वर निदाउनु एकै पल्ट भईदियो !
जस्ले माग्यो मेरो हत्केला
कोर्यो किरिङमिरिङ धर्सा
र , भन्यो-
"अब तँ एक्लै हिड्नु यो नागबेली बाटोमा" ।
१४.बियोग-२
पृथ्वीमा सुर्य नखसेको
युग पुग्दैथ्यो
बाटाहरु
डुबिसकेका थिए अन्धकारको योनीभित्र
त्यहिबेला
मैले देखेको हुँ
तिम्रो ओठलाई दियोजस्तै
त्यसपछि
तिमी दियो बन्यौ
र हुरहुर्ति सल्कियौ मेरो शरिरभरि
बरु
मलाई तिम्रो मुटुभित्र
एउटा सानो खाल्डो खन
र गाडिदेउ
बरु
मलाई तिम्रो मस्तिष्कको मसिनो धर्साभित्र
एउटा नाम बनाउ
र मेटाईदेउ
तर
म डढेर खरानी हुन नपाउदै
नखसालिदेउ आखाँबाट
तिम्रो पैतालाले टेकेको
आशुको जमिनमा!
१५.पहाडको कथा
आवारा बतासलाई प्रेम गर्नु
बतासले नै चुट्दा चुट्दै
ढुङ्गा बनाई दिनु हृदय ,
आफ्नो मुस्कान सुम्पिदिनु
फूललाई ,
चरालाई दिई दिनु ,
आफ्नै छातीको गुडँ
र पनि
ऋतु बदलिए सङ्गै बदलिदिनु
फूलको रङ्ग ,
ऋतु बदलिए सङ्गै छाडि उड्नु
चराले गुडँ ,
र हृदय फेरि बनिदिनु ढुङ्गा ।
आदत वश
पुन: उमार्नु
बर्षौ बर्ष लगाएर बिश्वास ,
बिश्वासकै छहारीमा पल्टिनु र निदाउनु एक पल
निदाउदा निदाउदै उख्लिसक्नु बिश्वासको रूख
र खाल्टो पर्नु हृदयमा
हृदयको त्यो खाल्टोमा
फेरि उम्रिदिनु ढुङ्गा ।
यसरी नचाहेरै
ढुङ्गै ढुङ्गा थुप्रियो हृदयमा
र उ पहाड बन्यो ।
उस्ले झेल्नु झेल्यो
बतासको निष्ठुरीपन
उडि जाने चराको मन
बदलि जाने फूलको रङ्ग
र पनि मुस्कुराएरै उभ्भिदियो
एक जन्मभरि...
मुस्कुराएरै
सम्हालेर राख्न चाह्यो
शुभकामना दिदै हिड्ने बाटो ।
सम्हालेरै राख्न चाह्यो
छातीको कापबाट चुहिने
प्रेमको मुहान ।
तब सम्म सम्हालिरह्यो
जबसम्म
प्रेमको गित गाउदै
बग्दै थियो नदि
नदि
नुहाउदै थियो
पश्चिम क्षितिजको सुर्यभित्र !
Comments
Post a Comment