योद्धा आमालाई सम्झिएर-१

योद्धा आमालाई सम्झिएर 
----------------------------------------

 `आमा´को लागि आमा हुनु भनेको के थियो ? म कहिल्यै महसुस गर्न सक्नेछैन । तर सन्तानको लागि आमा के हुन्छ ? असङ्ख्य अनिद्रामा, अफ्ठ्यारामा, असहजतामा पनि धरती भइ एक्लै फैलिनु, सन्तानको सुखमा आकाश झैँ उज्यालिनु, जीवनकै सब्से सुन्दर आदर्शमा आफ्नो रक्तमांसको डल्लालाई डोहोर्याउन चाहनु सायद आमा हुनु हो । कम्तिमा मेरी आमालाई यस्तै पाएँ । सन्तानको लागि आफ्नो थर दिन समेत योग्य नहुने देशमा, सन्तानको लागि एक चिर्कटो नागरिकता दिन समेत योग्य नहुने देशमा सायद हरेकजसो आमाको यस्तै विषम चित्र बन्छ । यस्तै उदास अनुहार बन्छ । यस्तै थकित अनुहार सम्झिएर हामी आमालाई महान भन्छौं । तर आमाको एकलौटी सकसहरू कम गर्दैनौँ ।   

समाजशास्त्रको आँखामा आमा महान होइन; शोषित हो, उत्पिडित हो, दास हो । यसको चेपमा पिसिएर पनि जसरी मलाई/सन्तानलाई हुर्काउनुभयो । त्यो समानताको मूल्यबाहेकमा तिर्न नसकिने ऋण हो । ज्ञानको नवजात गोडा बामे सरिरहँदा पीडक लाग्छ धरती; सायद आमा हुनु भनेको आफ्नो फरिया/औंला समात्न दिएर उभिन सिकाउनु हो, अग्लो एक्लोपनमा जीवन देखाउनु हो । सन्तानहरूले सजिएको संसारमा आमाहरूको कुनै देश छैन । साँघुरो घेरामा निस्सासिएका छन् आमाहरू । तर साँघुरो घेरामै सहि आमाहरूले सन्तानका लागि भिमकाय युद्ध लडेका हुन्छन् । जब आमालाई सम्झन्छु, यस्तै सोच्छु- 

 क.)आमाका युद्धहरू

 यो पृथ्वीमा आमाको महिमा धेरै गाइएक‍ो छ । महानताको यो गीत आमाहरूको लागि उत्पीडनको थप षड्यन्त्र बाहेक केही बनेन । तपाईंहरू स्विकार्नु हुन्न । तर आमाहरू अछुत पनि हुन्छन् । मासिन्या हुन्छन् । मधेशी हुन्छन् । यहीँ विभाजनको कारण उनिहरू दोहोरो-तेहेरो उत्पिडिनमा बाँच्न विवश हुन्छन् । मेरी आमालाई यो देशले जन्मजात कम्तिमा तीनवटा गोलि छातिमा दागेको थियो । ती गोलीका ताता दु:खहरू छातिमा बल्झिरहन्थ्यो । जीवनका ठूल्ठूलो युद्ध लड्दा ती गोलिहरूले असाध्यै अल्झाए, आँसु दिए, दुखाए । छातिमा जन्मजात गोलि दागिएका आमाहरूको सङ्घर्ष र साहस कस्तो हुन्छ ? म मेरी आमालाई सम्झन्छु । लाग्छ-त्यो असङ्ख्य युद्धभन्दा कम हुँदैन । उहाँको पहिलो युद्ध थियो; बाल्यकालमै मातृत्व गुमे पनि आफूलाई सर्भाइभ गराउन सक्नु ! जन्मको तीस बर्ष हुँदासम्म छ महिना पनि आमाबाट टाढिएर बस्नु नपरेको मलाई बालापनमै आमा गुमाउदा कति गहिरो आघात पर्छ ? कति पीडादायी हुन्छ जीवन ? थाहा छैन । अहिले साथमा हुनुहुन्न आमा ! र साथमा नहुदाँको यो अभावभन्दा ज्यादै असह्य हुन्छ भन्ने जान्दछु । अहिले लाग्छ-आमाबिना त मैले राम्ररी बाँच्न पनि सिकेको रहेनछु । आमाले शैशव समयमै कसरी झेल्न सक्नुभयो होला संसारकै गहिरो अभाव ? कुन त्यान्द्रोमा अल्झाएर कटाउनु भयो होला सिङ्गो जीवन ? 

 आमाको दोस्रो युद्ध थियो; १२-१३ बर्षको उमेरमा बिहा हुनु, लोग्ने रक्स्याहा पर्नु, तर यस्तै रहेछ भाग्य ठानेर चुप्प नबस्नु, लोग्ने लत्याएर माइत बस्नु ! आमाको जीवनकालमा कहिल्यै नसुनेको यो साहसको कथा सुनेर एकछिन त ट्वा परेको थिएँ, अवाक भएको थिएँ । आमासँगै कति अतित, अनुभव, स्मृति जले होला ? आमालाई दागबत्ती दिएर फर्केपछि शोकको एकलेनमा झनझन एक्लिरहेँ । किरिया बस्दा(आमालाई `म कैल्यै किरिया बस्छु´ जस्तो लाग्दैन थियो । भन्नुहुन्थ्यो-`यो कान्छो बस्दैन होला । अरूलाई बसाउनु ।´ म भन्थेँ-`किन बस्नु किरिया ? जे सक्छु जिउँदैमा गर्छु ।´ आमासँग निर्धक्क झगडा गर्न सक्थेँ । बुवालाई भन्न नसकेको कुरा आमैलाई भन्थेँ । उहाँ भावनात्मक पुल बन्नुहुन्थ्यो-पिता र पुत्र जोड्ने ! आमालाई बस्छु जस्तो नलागे पनि म किरिया बसेँ । आमा अझै रहनु हुन्छ होला लाग्दालाग्दै बित्नुभयो । नितान्त उहाँसँग हुनु थियो, त्यसैले किरिया बसेँ । तर त्यस्तो कर्मकाण्डले आमालाई राम्ररी सम्झिनसम्म दिन्थेन/दिएन । आमासँग रहने सर्वाधिक निकृष्ट माध्यम रहेछ किरिया बस्नु।)रमेश दाइले यो किस्सा सुनाएपछि कसरी कसरी जीवनको लेनमा फर्किएछु, सङ्घर्षको शीर्षकमा फर्किएछु । बिहे भएपछि `जस्तै नालायक लोग्ने परे पनि घर गरि खानुपर्छ´ भन्ने समाजलाई उहिल्यै थप्पड हान्ने आमाको छोरा हुँ भन्ने महसुस भएछ । यस्तो साहसलाई `हामी सबै नारीवादी हुनुपर्छ´ पुस्तकमा नारीवादी कदम भनेको सम्झिएँ । मेरी आमा यहीँनेर नारीवादी लाग्यो । 


 दाइले थप भन्नुभयो-"पहिलो लोग्ने त्यागेर बस्दाताका नै गाँउमा हुने रत्यौलीमा बुवा र आमाको भेट भएछ । बुवालाई आमा मन परेछ । आमालाई बुवा मन परेछ । बुवाले रौसेर भन्नू भएछ-`जाने हो त मसँग ?´ त्यसपछि घरजम भएछ ।" पुरानु जमानाको मान्छे भएकाले आमाबुवा दुवैलाई लोक गीत मनपर्छ । आमाले प्रकाश सपुतको `पछ्यौरी च्यातियो तिम्ले तानेर...´ गीत बजारमा आएदेखि आफ्नो क्यान्सरको शुरूवाती महिनाहरूसम्म अत्यधिक मोहले हेर्नुभयो, त्यो गीत । जति नै मन परे पनि मैले कुनै गीत त्यति धेरै हेरेकै छैन । `त्यो हदसम्मको मोह किन थ्यो होला आमालाई ?´ सोच्थेँ । अहिले कताकता लाग्छ- त्यो गीतको भिज्वलमा आमा आफ्नै अतीत भेट्नुहुन्थ्यो र बडो प्रेमले दोहोर्याई रहनुहुन्थ्यो । 


 पहिलो बिहे एकाध महिनाको थियो । दोस्रो बिहेपछि आमाले सात सन्तान जन्माउनु भयो । मभन्दा अघिको सन्तान जिवित रहेन । छ सन्तानलाई जिवित राख्न गरेको सङ्घर्षको कुनै सिमा थिएन । त्यो सङ्घर्षलाई समेट्न सक्ने सायद कुनै पनि शब्दको सामर्थ्य छैन । कमाउन बुढो इन्डिया पसेपछि सन्तान हुर्काउन एक्लो महिलाले गर्ने सङ्घर्ष युद्धभन्दा बहुआयामिक हुन्छ । आमा `बालिघरे´ हुनुभयो । १०-१२ बर्षको जेठो छोरोलाई आरनमा राखेर बिष्ट धान्नु भयो । तिनले बर्षमा एकखेप दिने अन्नले बाँच्न सम्भव थिएन । बिष्टका मेलापात गर्नुभयो, घाँस, भकारो गर्नुभयो । आमा भन्नूहुन्थ्यो-`त्यो च्यानमा जति गरेनी खानै नपुग्ने !´ त्यो चिहान छाडेर मधेश आएपछि बन फाँडेर बस्न मिल्यो। इट्टा भट्टामा काम गर्न मिल्यो । जंगलबाट दाउरा ल्याएर थापा साहुकोमा पुर्याउन मिल्यो । हुटेल हुटेल पुर्याएर बेच्न मिल्यो । बालिघरे हुनबाट क्रमश: छुटकारा मिल्दै गयो । सपनाजस्ता सुविस्ताहरू विपना भए । 


 ख.)स-स्याना सम्झनाहरू 

 सम्झनाहरू ऐकान्तिक हुन्छन् । जति सङ्गाल्न खोजेपनि कतै एक्लै छुट्छन् । आमाले प्रेमले दिएका धेरै गिफ्ट थिए । केही आमा साथै हुँदा कतै छुटे, एक्लिए । सम्झना आकस्मिक पनि हुदाँ रहेछन् । ती छुटेका गिफ्टहरू कुनै एकान्तमा अचानक रिल बन्छन् र फनफनी घुम्छन् । आमा छुटेर जानुभयो । उहाँसँगै छुटेर गए मेरो नवजात पिठ्युमा तेल धस्ने हत्केला ! मलाई संसारमै सब्से प्रेमले बोलाउने एउटा मानिस, मलाई सब्से प्रेमले सम्झिने एउटा मानिस ! सम्झना अत्यावश्यक पनि हुँदोरहेछ । केही सम्झना, केही संवेदना एकपल पनि अलग गर्न नसकिँदो रहेछन् ।  

आमा अक्सर अकमकिरहनु हुन्थ्यो पैसाको हिसाबमा । पहाडमा एक्लैले पाँच सन्तान र घर चलाउदाँ `बालिघरे प्रथा´ थियो । हातगोडा फुट्ने गरि काम गरे पनि, आरन चलाए पनि अन्न, तरकारी, कपडा जे दियो त्यसैले गुजारा गर्नुपर्थ्यो । हिसाब जरूरी नै परेन । यता तराई आएपछि मेलापात गर्न मिल्यो । तर कमाएको पैसा बुवालाई नै दिनुहुन्थ्यो । आमाले आफ्नो गणित कहिल्यै सुधार्नु भएन । सायद आर्थिक अधिकार नपाएर होला । वा पैसा भन्ने जिनिस मोह गर्ने कुरो हैन ठानेर पो हो कि ? खुजुरा पैसा पटुकीमा गाँठो पारेर राखेको महिनौँपछि ५-१० बिसा पुग्थ्यो । एक जुगमा एकदिन हाट जाँदा आलु चप, भुजा, सिङ्गडा जस्ता सस्ता खानेकुरा ल्याउनु हुन्थ्यो । हामी रस मानेर खान्थ्यौ । नबिकेर अन्तिमसम्म बाँकी रहेका, घरि/झुप्पाबाट झरेका कम दामको फलफूल बडो प्रेमले उठाउनु हुन्थ्यो । सायद उहाँलाई लाग्थ्यो-`उहिल्यै उहिल्यै यि पहुँचबाहिरका जिनिस थिए । अब त आफ्नै पैँसाले खान सकिने भैयो ।´ आफूसँग भएका `लोठ´हरूलाई दोहोर्याई तेहर्याई गन्नुहुन्थ्यो । यी तिनै `लोठ´हरूले थिए । जसले बाल्यकालको स्मृतिलाई कुपोषित हुन दिएनन् । 

 म जवान भएपछि एकदिन भन्नुभयो-`कान्छा भत्ताको पैसा आको छ । आज हिन बजार...' मलाई भीडभाडदेखि भाउन्न छुट्थ्यो । तर आमा नलगी नछाड्ने मुडमा हुनुहुन्थ्यो । बजारमा सिन्दुर, टिका, चुरा आदि किन्नुभयो । घिरौला, पडोर, साग आदि किन्नुभयो । दिँउसोदेखि हाट गएर थाकेको घाम पश्चिम आकाशमा आराम गर्न हिँड्दै थियो । हामी अझै हाटमा थियौं । फर्किने बेला आमाले एउटा घडी पसल लिएर जानुभयो । र आदेश दिनुभयो-`ल कान्छा एउटा घडी छान । मास्टर जस्तो मन्छे भइसक्यो अझै नाडी बुच्चै छ।' मलाई त्यसबेला दुँनियादारीको खास ज्ञान थिएन । घडी लगाउनु प्रतिष्ठाको काम हो भन्ने पनि थाहा थिएन । लगाउनु पर्छ पनि लाग्दैन थियो । आमाको सरप्राईजले अलमल परेँ । कुन छान्नु ? कस्तो छान्नु असामञ्जसमा परेँ । आमाले एउटा चारपाटे घडी उठाउदै भन्नुभयो-`मास्टर जस्तो मन्छेलाई यै सुहाउछ।' उहाँलाई सायद मास्टर भएको मन परेको थियो ! तर लागेको रहेछ-मास्टरको जस्तो लुक्स चैँ आएन । त्यो बनाउन लग्नु भएको रहेछ बजार । म ब्याचलर पढ्थे । बोर्डिङ्गमा पढाउन पनि थालेको थिएँ । तर बहुत लापरवाह मान्छे थिएँ । पढ्ने सिवाय अर्थोक केही गतिलोसँग गर्दिन थिएँ । आमाले मोल सोध्नुभयो । `पाँच सय पचास त पर्दैन यसको । दिने भए सात सय दिन्छु । दिनु....' भन्ने हिसाबले बार्गेनिङ्ग गर्न थाल्नुभयो । मैले सम्झाएँ-`सात सय बढी हो आमा पाँच सय पचासभन्दा...' `कति बिसाले बढी ?' उहाँको प्रश्न थियो । `बिसा'को क्यालकुलेटर नदबाई आमाको हिसाब पूरा हुन्थेन । `सात बिसा....' मैले यस्तै केही भने । साहुजीले आफैँ भाउ मिलाएर घडी भिडायो । आमाको `स्यालरी'ले किनेको त्यो पहिलो गिफ्ट अहिले मसँग छैन । सम्झनाहरू ऐकान्तिक हुदाँ रहेछन् । जति सङ्गाल्न खोजेपछि कतै न कतै एक्लि जान्छन, छुटिजान्छन् । सम्झनाहरू आकस्मिक पनि हुदाँ रहेछन् । त्यो छुटेको घडी अहिले पनि कुनै एकान्तमा रिल बन्छ र फनफनी घुम्न थाल्छ । 


 लोकसेवा आयोगबाट खरिदार पदमा नाम निकालेको पनि डेढ/दुई बर्ष भइसकेको थियो । मेरो उस्तै दुब्लो/पातलो ज्यान देखेर `अलि ड्याम्म खानी गर । हाकिम भएर दुब्लो भयो भने कसैले पत्याउदैन ।´ भन्नुहुन्थ्यो । आमालाई याँमानका भुँडी भएका मानिस मात्र गतिला हाकिम हुन भन्ने लाग्थ्यो । म सम्झाउथेँ-`आमा काँ पैल्येको जस्तो भुँडेभुडेहरू मात्र हाकिम हुनु...अब त केटी नि हाकिम हुन्छन् । मभन्दा दुब्ला नि हाकिम छन । दलित नि हाकिम हुन्छन ।´ आमा छक्क पर्नु भयो । तर मोटाउन जोड दिइरहनु भयो । म घर र अफिसबाहेक कतै जान्न थिएँ । घर चाँडो आउँदा `उतै हुटेलतिर खार आउनी गर´ भन्न थाल्नुभयो । मैले घरबाहिरको खान थालेको पनि त्यसपछि नै थियो ।  


 एकबिहान आमाले भन्नुभयो-बुवाको शनशराबार बुझाउने भाकल छ रे । हिजो बजारबाट ल्याउन भुलेछन् । हिन जम परेवा खोज्न ।...´  मैले पर्दैन बुझाउन भाकल भनेँ । मान्नु भएन । चराचुरुङ्गी, पशुलाई मार्ने काम गर्नुहुन्न भनेँ । उडाउने हो भन्नुभयो । तपाईं किन जानु ? मै एकछिन पुगेर ल्याउछु भनेँ । तैलेँ देखेको छैन । म लग्छु परेवा किन्ने ठाँउमा भन्नुभयो । एकजना बज्यैकोमा लग्न भन्नुभयो । पुग्यौँ । परेवा गन्जभरी थिए । आमाले परेवा आवश्यक परेको सुनाउनु भयो । तर ती बज्यैले बेच्न खोजिनन् । आमाले बारम्बार मलाई `आईज बज्यैसँग मोल गर´ भन्नुभयो । तर म बाईकबाट उत्रिँन । ती बज्यै पनि बेच्ने मोडमा पुगिनन् । आमालाई जाम अन्तै भनेँ । बाईक चढेर अलिक पर पुगेपछि आमाले भन्नुभयो-`जाँठी भइभइ नि बेच्दिन । पैले हाम्लाई खुब हिक्थी । ऐले छोरछोरी सप बिग्रेका छन्....´ त्यसपछि लाग्यो-आमा त्यहाँ परेवा किन्न भन्दा पनि `हेर तैले हिके पनि मेरो छोरा हाकिम भाछ´ भनेर देखाउनु थियो । मलाई बारम्बार मोल गर्न बोलाइरहनुको कारण पनि सायद त्यहि थियो । बजारबार नभएकोले परेवा कतै पाइएन । तर त्यो घटनाले सम्झाउछ-आफूलाई अपमानित गर्नेको एकेक हिसाब राख्नु भएको थियो आमाले । त्यसको चुक्ता आफ्नै गणितले गर्नुभयो ।  

 ३.)हजारौँ हातको हस्ताक्षर 

 आमा स-साना कुरामा बाँच्नुभयो । उहाँको संसार स्यानो थियो । तर त्यो संसारलाई यसरी सजाउनुभयो, यसरी श्रृगार्नु भयो कि त्यो संसार नै सिङ्गो ब्रमाण्डजस्तो, त्यो संसार नै सम्पूर्ण सम्पूर्ण जस्तो महसुस हुन्छ । सोच्छु- यदि पितृसत्तात्मक समाजमा चेपिनु नपर्दो हो त, त्यसको बहुआयामिक अभ्यासमा सेरिनु नपर्दो हो त हृदयको कुन कुन तहबाट उम्रिन्थ्यो होला मातृत्व ? सुन्दरताको कुन कुन आयाम छोएर बग्थ्यो होला मातृत्व ?  

म त्यहीँ रक्तमांसको डल्ला हुँ-जो पचास बर्षे आमाको मातृत्व पाउन आएको थियो । दुर्लभ गर्मधारणमध्येको एक घटना होला यो । सिमातित सकस त छदैछ । `परवार निब्जन गरेको...र पनि तँ जन्मिस् । इन्निया ग´र फाल्न नि मिल्थ्यो । तर फाल्न सकिनँ ।´ आमाले एकपल्ट भन्नुभाथ्यो । त्यति बूढो ज्यानले कुन सास, साहस र स्नेहले त्यो निर्णय लियो होला ? मलाई लाग्छ आमाले सन्तानको लागि लडेको यो तेस्रो युद्ध थियो । ढिला जन्मिएँ म । शर्मनाक कुरा बन्यो । तर आमाले अनकन्डिसनल स्नेहमा हुर्काउनु भयो । बर्सेनि टाईफाईड, मलेरिया भइरहन्थ्यो । आमा छेउमा बस्नुहुन्थ्यो । टाउको छाम्नुहुन्थ्यो । रूनुहुन्थ्यो । जीवनको धेरै यात्रा त्यहीँ आँसु सम्झिएर काटेँ । हरेक बिमारीमा मर्छु जस्तो लाग्थ्यो । तर उहाँले कसो कसो फर्काएर ल्याउनु भयो । 


 मैले थाहा पाएदेखि नै बुवाआमा दुवै वृद्ध हुनुहुन्थ्यो । १८/१९ बर्षको पुग्दा त आमाले जेष्ठ नागरिक भत्ता नै लिन थाल्नु भएको थियो । त्यसकै पैसाले किनिदिनु भएको थियो-एउटा घडी । जसलाई लगाएर म मास्टर जस्तो देखिएको थिएँ । पछि हाकिम(उहाँलाई लाग्थ्यो । थिन चैँ खरदार थिएँ) पनि भएँ । अझै पढोस सिडिओ बनोस् भन्नू हुन्थ्यो । अन्तरहृदयले चैँ सधैं बच्चै छ मान्थ्यो क्यारे । जीवनको अन्तिम समयसम्मै-`यो कान्छा यति ठूलो भैसक्यो । सप्नामा सदै बालखा देख्छु । सदै सारीको फेर समातेर वरिपरि कुदिराख्छ । यसकै पिर लाग्छ....´ भनिरहनु भयो । म त्यहीँ पिरग्रस्त आमाको `मोह मोह के धाँगे´मा गाँसिएर यति पर आइपुगेँ.. 

( झन नयाँमा प्रकाशित सम्पादित लेख लिन्क-https://jhannaya.nayapatrikadaily.com/news-details/2134/2023-07-08 )

Comments

Popular posts from this blog

मोह मोह के धागे....

मनोज बिश्वकर्माको पन्ध्र प्रेम कबिताहरू