कबिता- मानौ तिमी थियौ
(।...................................।)
मानौ त्यहा कुनै पदचापको जङ्गल थिएन
मानौ त्यहाँ कुनै जेब्रा क्रसजस्ता आखाँहरू थिएन
थिएनन् बिसौ बर्ष पुरानो सवारी जस्ता ओठहरू.......
मानौ बिश्वासका धागाहरू थिए
तीन्कै टुप्पामा उनेको रङ्गीन पतङ्गहरू थिए
जो छुन निस्कन्थे उत्सवका झुप्पा बादलहरू !
मानौ तिमी थियौ
र मात्र म थिए !
तिमी आयौ
मेरो शिरबाट सिरानीको भिड भत्कियो
आखाँले बाथरूमको धारासगै बेसुरले रून छाडेँ
तिमी आयौ
बर्षौदेखि निदाई रहेका किबोर्डबाट अक्षरहरू बिउझिए
उदास गितका आखाँहरूमा तिहारका गुच्छा फक्रिए
मानौँ अचानक अङ्गालोमा आई
कक्षामासँगै होहल्ला गर्ने पुरा...नो सखी
तर तिमी यसरी आएका रहेछौ मेरो जीवनमा
न तिमीलाई आफ्नो भन्नै सकेँ
न यो मनले पराइ ठान्नै सक्यो !
मानौ
सुनसान कुनामा सुटुक्क
नाजायज सम्बन्ध छाडि हिड्ने कुमारी आमा भए म
मानौ
सुदूर गाउँको छाउघरमा
आफ्नो धर्म निभाउदा निभाउदै बिटुलो भए म
मानौ
तिम्रा विर्य बोक्न अभिशप्त डस्टविन भए म
मानौ
तिमी थियौ
तर म थिए नै !
यदि मैले तिम्रो नाममा एक शब्द लेखे भनें
बेस्कन धड्किने छ कबिता
र धिक्कार्ने छ तिम्रो बेपत्ता मुटुलाई !
(-'अनुहारको भीड' संयुक्त कबिताकृतिमा सङ्ग्रहीत )
Comments
Post a Comment