मोह मोह के धागे....




योद्धा आमालाई सम्झिएर-२   
--------------------------------------------

मानिस भएर जन्मिनु रहर थिएन । तर म जुन सालनाल सहित संसारमा खसेँ । त्यो संसारकै सुन्दर मानिसको गर्भमा हुर्किएको थियो । अर्थात मेरी आमा हरिमाया विश्वकर्माको । त्यो सालनालको `धागो´ले मोह उनेँको थियो । जीवन उनेँको थियो । धागो गाँस्नु अघि आमा स्वयम् प्रकृतिमा अदृश्य/अजन्म हुनुहुन्थ्यो । जन्मिनु भयो । सालहरूको अन्तरालमा म उहाँकै सालनाल समातेर पृथ्वीमा खसेँ । त्यो सालनालले `मोह´ उन्यो । जीवन उन्यो । ७५/७६ बर्षको आयुपछि चुँडियो । अर्थात आमा पुन:प्रकृतिमै बिलुप्त/अदृश्य हुनुभयो । 
आमाको जन्मस्थान-रामेछाप कटुञ्जे ।
आमाको जन्मस्थान-रामेछाप कटुञ्जे ।

आमालाई दागबत्ती दिदाँ म पनि जलेको थिएँ । अहिले अक्सर लाग्छ-मरेपछि जलाउने संस्कार सब्से निर्ममहरूको संस्कार हो । यो संस्कारप्रति गहिरो तिरस्कार छ । लागिरहन्छ-आमालाई कतै गाड्न पाएको भए हुन्थ्यो । प्रकृतिमै सड्नु हुन्थ्यो । त्यहिको माटोमा रङ्ग भएर मिसिनु हुन्थ्यो । ससाना झार, बिरुवा भएर उम्रिनु हुन्थ्यो । आमाको औधी याद आउँदा, पश्चतापले/प्रेमले एक्लिदा त्यहाँ गएर ती झारहरू छुन्थेँ । तिनलाई सुनाउथे कि म कति भेट्न चाहन्छु आमालाई ! तर जलाएपछि त्यो सम्भावना सकिने रहेछ । कहिलेकाही त्यो नदी किनारको घाट हेर्न पुग्छु । त्यहाँ डुब्दो घाम सुन्दर देखिन्छ । र सोच्छु- बस एकपटक मात्र भए पनि आमालाई भेट्न/देख्न पाएँ ! आमा त्यतै प्रकृतिको गर्त/गर्भमा हुनुहुन्छ । पक्कै मेरो ब्लुज सुन्नुहुन्छ होला । सुनेपछि(अक्सर भनिरहन्छु । सुन्नु नै हुन्छ होला) सायद उदास हुनुहुन्छ होला । ठान्नु हुन्छ होला- यो कहिल्यै ठूलो भएन । स्यानो छँदा सारीको फेरो समातेर अल्झाई बस्थ्यो । मर्नेबेला पनि स्यानै छ जस्तो लागिरह्यो । यो बच्चो ठूलो अल्झन रहेछ । म त जैल्यै यसमै अल्झिरहने भए, अहिले पनि त्यसमै अल्झिएको छु होला....


आमा मलाई सदैव प्रकृति झैँ लाग्छ । एउटा प्रकृति त गर्भमै बोक्नु भएको थियो । तब न उनका सन्तानले संसारमा उम्रिन/हुर्किन पाए । सिङ्गो आमालाई चिनाउन/समेट्न त संसारका सबै शब्दले सक्दैन । उहाँको स्नेह प्रकृति झैँ लाग्छ । सन्तानलाई स्यानो बिरुवा जसरी हुर्कायो । बचेरालाई जसरी बचायो । मभित्र हुरीहरू हुर्किएँ । तालहरू जमेँ । नदीहरू बगेँ । आमाले रोप्नु भएको थियो- यि प्रकृतिको हिस्सालाई म/हामीभित्र ।

मानिस भएर जन्मिनुको सजाय रहेछ मृत्युको सामना गर्नु । मानिस भएर जन्मिनु मेरो रहर थिएन/छैन । हुनै/बन्नै परे बरू जङ्गली चरा हुन्थेँ, समुद्री किरा हुन्थेँ । जे नै हुन्थे तर मानिस हुन्न थिएँ । । यो अरहरको जीवनमा आमाको मृत्यु सब्से ठूलो सजाय हो मेरो लागि । संसारमा राम्रा मानिसहरू छन भनेर आमाले सिकाउनु भयो । तर उहाँ जति राम्रो त अर्को को छ र यहाँ ? एउटा मात्र सुन्दर मानिसको अभावले कति असुन्दर हुँदोरहेछ संसार ?! आमा नभएको संसार यस्तै लाग्छ । तर महसुसहरू सुन्दर लाग्छ । किनकि त्यहाँ अझै आमा हुनुहुन्छ । 

१.
एकान्त एकालाप

आमा अक्सर एकान्तमा आउनु हुन्छ । स्मृतिमा आउनु हुन्छ । आमाले बिताएका अन्तिम बिमार दिनहरू सम्झिन्छु । पश्चताप लाग्छ, आमालाई कति बिझाएँ होला लाग्छ । अहिले यसैले ठिकठाक महसुुस गर्न सकिरहेको छु कि- उहाँ आमा हो । सजिलै क्षमा दिनुभयो होला । हामीले बिताएका विषम दिनहरू सम्झिन्छु । सास बढेर आऊछ । परेलाहरू छिट्छिटो फरफराउछन् । आँखीभौँ अनियन्त्रितसँग फरफराउछ । मैले तपाईं बिना बाँच्नै सकेको/सिकेको रहेनछु आमा । रोईदिन्छु.... आमाले कहिल्यै रून सिकाउनु भएन । क्यान्सर लाग्दा पनि, डक्टरले मृत्युको अल्टिमेटम दिदाँ पनि उहाँ निरन्तर लडिरहनु भयो । क्यान्सरसँग लड्ने साहस सायदै कोहीसँग हुन्छ । तर उहाँ हिम्मतसँग लडिरहनु भयो । जबसम्म हाम्रो आँखाले शोक सन्देश दिएन । तबसम्म उहाँ लडिरहनु भयो । शोक सन्देशपछि चैँ हिम्मत टुट्यो क्यारे ! मेरो किशोर समय सम्झन्छु- बूढो लोग्ने र आफ्नो बूढो ज्यानले सबथोक झेलेर भए पनि आमाले लड्न नै सिकाएको सम्झन्छु । बाँच्नै सिकाएको सम्झन्छु । भाग्न हैन उभिन सिकाएको सम्झन्छु । 



घरमा तीन जना थियौँ । दुईजना बृद्ध उमेरको । एकजना दुब्लो पातलो । त्यो दुब्लो जीवलाई हरेक बर्ष टाईफाईड, मलेरियाले सताइरहने । सन्तानमा एसएलसी दिने माईला छोरा थियो । त्यसपछि त्यहीँ दुब्लो जीव थियो । आमालाई लाग्थ्यो- एसएलसी सकेपछि ज्याला मजदुरी गर्छ । बिहे गर्छ । घर-गृहस्थी हुन्छ, हामीलाई पाल्छ । त्यसबेला बिदेश पठाउने महामारी व्यापक थियो । तर आमा यसको कट्टर प्रतिपक्षी हुनुहुन्थ्यो । माईला(रमेश दाइ) दाईले मजदुरीदेखि दिक्दार भएर-`बिदेश जान्छु´ भन्दा आमाले रोएरै रोक्दिनु भएको थियो । त्यसपछि दाई आजसम्म बिदेश जानू भएको छैन । जेठा दाई त झन कसरी जानू र ! मलाई बिदेश पठाउने प्लान त झन के हुन्थ्यो र आमासँग ? बरू आमाले मामाको छोरीको बारेमा सुनाउन थाल्नु भएको सम्झन्छु । बिहे गर्नुपर्छ भन्न थाल्नु भएको सम्झन्छु । म त्यसबेला १७ बर्ष र पुगनपुग ४० केजीको थिएँ । यो शारिरिक उपलब्धिले हो वा सरहरूले फुर्क्याएर पढ्नुबाहेक अर्थोकमा म बयस्क थिईँन । `मलाई पढ्न/लेख्न मात्र आउँछ । म अझै पढ्छु ।´ एकपल्ट आमालाई भनेको थिएँ । यो सारै हैसियत बाहिरको कुरा थियो । मलाई पनि थाहा थियो । आमा चुप हुनुभयो । तर हरेक साल बिहे गर भन्न छाड्नु भएन । 

 बुद्ध झैँ आरनमा तपस्यारत बृद्ध मानिसलाई देख्थेँ । जो मेरो पिता हो । र उदास हुन्थेँ । छोरा भएर पनि केही गर्न नसकेकोमा छटपट्टिन्थेँ । फुर्सदमा गएर आरन चलाउने, घन ठोक्ने, कचियाको दाँत काट्ने गर्थे । घन ठोकेर हर्याकहर्याक भएको देखेपछि आमा बुवासँग भिड्न पुग्नु हुन्थ्यो-`यो सानै छ । धाउधाउ नगराउनु´ भैंसी लिएर खाली खेतमा पुग्थेँ । त्यसबेला भैँसीमाथी चढेर चराउन छाडिसकेको थिएँ । भैंसी चरूवा(म)कै वरिपरि चर्न थाल्दथे । म किताब लिएर गएको हुन्थेँ । र अक्षर चर्न थाल्थेँ । किताबमा छिरेपछि `मेरो दुनियाँ बेग्लै छ´ हुन्थ्यो । सन्तापको सारा स्रोत सखाप ! पठनको सुरमा घरेलु सारा पिर पोस्टफोन ! पढ्ने बस पढ्ने । जे भेट्यो त्यहि पढ्ने ! 


आमा पनि ढुक्क भईसक्नु भएको थियो होला- यसले पढ्न/लेख्नबाहेक गतिलो केही गर्न सक्दैन । त्यसैले होला आरनको काम लिएर आउने भद्रभलाद्मीलाई मेरो पढाईको विज्ञापन गर्न थाल्नु भएको थियो । आमाको बढाईचढाई सुन्दा लाजलाज लाग्थ्यो । उहाँलाई चैँ कुनै भलामानिसले नोकरी लगाईदिन्छ वा ढङ्गको केही गरिदिन्छ कि लागेको हुँदो हो । एकपटक त आमाले नजिकैको बोर्डिङ्ग मालिकलाई भेटेर `मेरो छोरोलाई पढाउन दिए खुकुरी उपहार दिने´ प्रलोभन दिनु भएछ । नामी बोर्डिङ्ग चलाएर बसेको मालिकलाई नाथे त्यो खुकुरी के चिज हो र ? तर आमालाई त्यस्को कुनै हेक्का/थिएन ! छोराको पिर/भबिष्यले  डोर्याउदै डोर्याउदै पुर्याएको हुँदो हो ।

२.
पठन र आमा

शब्दहरूको चउर फराकिलो हुन्छ । जहाँ मोहक किताबहरू उम्रिरहन्छन् । पत्रपत्रिका पढेपछि त्यहाँ फोटो देखिएका, राम्रो भनेका अनेक किताब चर्ने चाह बढेको थियो । तर किताबमा पहुँच वर्गीय हुन्छ । समाजवादका किताबहरू श्रमिकले छुन सक्दैनन् । यस्तो किन हुन्छ ? यो देशको कति भू-भागमा अझै पाठ्यपुस्तक पाईदैन । यस्तो किन हुन्छ ? बहुसंख्यक मानिसको पहुँचमा पुस्तक छैन । यसैले म यहाँ पुस्तक र पठनको ग्लामराईज गर्ने घिसापिटा काम गर्दिन । असल पुस्तक-प्रेमीले यस्तो कुकर्म गर्नु हुँदैन । त्यसैले म पनि गर्दिन । तर एक समय पुस्तकको लतमा फसेको सत्य हो । मनचाह किताब पढ्न नपाएको पनि सत्य हो । किनकि किताबमा पहुँच वर्गीय हुन्छ । सबै मनपसन्द पुस्तक किन्ने हैसियत थिएन । शनिवारिय बिशेषाङ्क, मासिक पत्रिकाहरू र चपुरमा उपलब्ध हुने छिटपुट पुस्तक जे भेट्यो त्यहीँ मुख दराल्यो । चपायो । उग्रायो । यसरी दिनहरू किताबग्रस्त भईरहेका थिए । पढिसकेपछि किताब थन्क्याउन घरमा ढङ्गको ठाउँ थिएन । फलत: `शब्दका चउरहरू´ घरको एक कुनामा थुप्रिरहे । तीनलाई जे जति सुरक्षा एंव सम्मान मिल्यो । त्यो आमाबाटै मिल्यो । कालान्तरमा तीनै सुरक्षित पुस्तकहरू पुस्तकालय बने । र त्यो आमाको `पुस्तक-प्रेम´ले सम्भव भएको हो । 

आमाको पुस्तक-प्रेम अनौठो थियो । यत्रतत्र छरिएका पुस्तकलाई बटुल्ने । सुरक्षितसँग राख्ने । कहिलेकाही मुड चल्दा त्यसमध्यैकै एउटा छान्यो । र त्यसमै चित्र बनायो गर्ने । ती चित्रहरूमा मान्छे र फूलहरू कोरिएका हुन्थे । आमालाई नाम लेख्न गरिबी निवारण बैङ्कले सिकाएको थियो । नामबाहेक अर्थोक लेख्न आउथेन । थाहा छैन चित्र बनाउन कसरी सिक्नु भयो ?
आमाले बनाएका चित्रहरू । फूलको चित्र चै अहिले भेटिएन ।



किताब राख्ने र्याक नभएको घरमा कस्तो पुस्तकालय बन्यो होला ? यस्तो प्रश्न जागेको छ ? पख्नुस्-कस्तो बन्यो बताउनु अघि कसरी बन्यो भन्छु ! keep continue to read....

३.
पुस्तकालयको कथा
क्लबका केही पुस्तकहरू...



के तपाईंलाई देशभरका शोषकहरूले लखेटेर सर्भाईव भएका मानिसले सुरक्षा पाएको ठाउँ कुन हो थाहा छ ? शोषण एंव बहिष्करणको दस्तावेज पल्टाउन खोज्दा त्यहीँ गाडिनबाट उम्किएका मानिसले घर पाएको, परिवार पाएको ठाउँ कुन हो थाहा छ ? त्यो सुकुम्बासी बस्ती हो । त्यस्तै एउटा बस्तीमा म बस्छु । यहाँ अक्सर गर्मी मौसममा गरमागरम वाकयुद्ध चल्छ । कहिलेकाही `ग्याङ्ग अफ वासेपुर´ लाईभ टेलिकास्ट भए जस्तो लाग्न सक्छ । तर त्यो `फाईट सिन´ कुनै चलचित्र/सिरिज कथाभन्दा पनि `लार्जर द्यान लाईफ´को पेन्टिङ्ग जस्तो हुन्छ । यो पेन्टिङ्गको जरासम्म पुग्नु भयो भने भेट्नु हुन्छ- शोषक र सत्ताविरूद्धको फ्रस्टेशन । 

 यहाँ स्कूले बच्चा मजदुर हुन अभ्यासरत हुन्छ । यहाँ गरिबी र पछौटेपन कहिल्यै छाड्दिन भनेर भित्रिएको हुन्छ । त्यस्तै एउटा बस्तीमा करिब १० बर्षअघि बाटो, चौबाटो, झाडी, खेत, खोला किनार नै शौचालय थिए । किटाणुहरू जो कसैको घरमा निर्धक्क पाहुना लाग्न सक्थ्यो । यी पाहुनाले पैसा र प्राण सत्यानाश पार्थ्यो । तर मान्छेलाई त्यो पाहुनाको असलियत थाहा थिएन । आफ्नो गाउँको यस्तो बिकराल चित्रसँग म जानकार थिएँ । त्यसैले ५-६ कक्षातिर मास्टरहरूले `तेरो लक्ष्य के हो ?´ भनेर सोध्दा `समाजसेवी बन्छु´ भन्थेँ । मलाई गाउँको बिमार जीवनले बिझाईरहेको थियो । र `लक्ष्य´मा दुखिरहन्थ्यो । तर जसलाई खानलाउन धौधौ छ; त्यसले कसरी समाजसेवा गर्छ ? मलाई कुनै अन्दाज थिएन । बस आफू जन्मिएको ठाउँ र परिवारको दुर्गति असह्य थियो । बस ठानेको थिएँ-समाजसेवी बनेर यी तमाम बिकृति हटाउछु । 


अलिक पछि अलिक व्यवहारिक भएर शिक्षक बन्छु भन्न थालेँ । मेरो सोच, ज्ञान एंव ब्रह्मको सिमा त्यति नै थियो । शिक्षक बन्न चाहनुको दुई कारण थिए-एक त त्यतिञ्जेल मैले देखेको आदर्श मानिसहरू शिक्षक मात्रै थिए । दोस्रो  कारण थियो- सरहरूले त पढाएरै परिवर्तन गर्न सक्छन् । कतै न कतै सुषुप्तसँग बसेको थियो-शिक्षक भएपछि समाजसेवी हुन पनि त बाधा पर्दैन ! यसैले शिक्षक बन्नु थियो । धेरै पछिसम्म `परिवर्तनको सपना´ यसरी बोकेर हिडेँ । अहिले लाग्छ-त्यसबेला समाजसेवाको अर्थ अहिलेको जस्तो `दुईटा केरा दिएर दर्जन मान्छेले फोटो सेसन गर्ने´ टाईपको रैनछ । हुन्थ्यो त समाजसेवा शब्द नै जीवनबाट च्यातेर फ्याक्थेँ  होला, समाजसेवासँग सात समुद्रको दुरी बनाउथेँ होला ।


 शब्दको सङ्गतमा थिएँ । तर हरेक पटक पुस्तकभित्र पस्दा गाँउको दुर्दशा भिज्योलाईज हुन्थ्यो । किताबले परिवर्तनको भोकलाई थप जगाईदिएको थियो । लाग्थ्यो-पढेर पनि नाथे आफ्नै गाउँको लागि केही नगर्नु त के नै अर्थ भयो र पढ्नुको ? केही गर्नु थियो । भिड्नु थियो । कसरी ? आईडिया थिएन । टोलबाट स्कुल जाने कमै बच्चाहरू थिए । तिनैमध्ये केहीलाई टिउसन पढाउथेँ । तिनैलाई जम्मा गरेँ । गाउँको दुर्दशा र पढेपछिको जिम्मेवारी जोडेर अनेक ईमोसनल अत्याचार गरेँ । एउटा ईमोसनल टोली तयार भयो । बालक्लब बन्यो । `क्लब´मा शनिवार खेलकुद हुन्थ्यो । कथा सुनाउथेँ । प्रेरक प्रसङ्ग सुनाउथेँ । मुख्य योजना बाटो सरसफाइ गराउनु र सचेतनामुलक नारा लेखेको प्ले कार्ड बोकाएर गाउँ डुलाउनु थियो । तर यो काम ३-४-५ कक्षाका बिद्यार्थीलाई बोरिङ्ग होला ठानेर खेलकुद जोडेको थिएँ । खाजा खर्च पत्रपत्रिका/किताब किन्न केही कटिरहेका थिए । अब चकलेट किन्नमा पनि कट्न थाल्यो । खाजा खर्चको मूल स्रोत बुवा हुनुहुन्थ्यो । बुवासँग डिल गर्ने चैँ आमा हुनुहुन्थ्यो । थोरैतिनो योगदान त टिउसनको पनि थियो । तर गाउँको टिउसन खास गतिलो हुँदैन । अँ त चकलेटले पनि खाजा खर्च काट्न थाल्यो । चकलेट प्रलोभन थियो- शनिवार उपस्थित हुन र सामाजिक काममा सरिक गराउन । शनिवार खेल खेलायो । जित्नेलाई चकलेट दियो । कथा सुन्नु त यसै रसिलो थियो । रस र क्लबको कोरस गजबले चलिरहेको थियो ।
माईन्यूट टाईपको अभिलेखमा क्लब...


एकदिन पत्रिकामा पढेँ-मधेशकै एउटा गाँउमा खुल्ला शौच रोक्न बिहानबिहान ड्रम ठटाएर भगाएको खबर । शनिवारको भेलामा हामीले पनि त्यसरी ड्रम बजाउने कि भनेर छलफल गर्यौ । तर शौचको समयमा त्यसरी ड्रम बजाउनु `पेन्टागन हाउसमा प्लेन ठोक्काउनु´ जस्तो थियो । ड्रम त बजाईएला घर पुगेपछि बिन लादेनकै जस्तो निर्मम `हत्या´ हुन सक्थ्यो । हामीले सफ्ट तरिका खोज्यौ । घरघर गएर आग्रह एंव सचेत गरायौँ । गाउँ नजिक खोला छ । खोलापारी गएर शौच गर्न भन्यौ । खाल्डो खनिदियौँ । त्यसमैँ शौच गर्न भन्यौँ । तर यो उपायले खास काम गरेन । हार खाएर अरू नभए पनि क्लबका सदस्यले खोलापारी शौच गर्ने संकल्प गर्यौँ । त्यसले पछिल्लो पुस्तालाई खुल्ला शौचबाट अलग्याउथ्यो । `त्यो काम´देखेर लाजले भए पनि ठूलाहरू पारी पुग्छन् कि ? भन्ने अपेक्षा पनि थियो । तर त्यो अपेक्षा पुरै पूरा भएन । क्लबबाट यस्ता अनेक उबडखाबड काम भए । प्रशस्त गालिगलौज मिल्यो । तथानाम प्रशंसा पनि । अहिले सम्झिन्छु-के थिए ति लहडहरू ? आमाले मेरो लहडहरूलाई कहिल्यै रोक्नु भएन । तर बेलाबेला दुखेसो पोख्नु हुन्थ्यो । गालीगलौजले खिन्न बनाएको भनिरहनु हुन्थ्यो । 

तर गाउँ सुधार्नु पर्छ भन्ने ज्ञानको चपेटामा फसेको थिएँ । क्लब छ भनेर लहड झन बलियो बनेको थियो । क्लब त थियो तर अध्यक्ष म थिईँन । गाउँकै एकजना बहिनी एलिना यादव अध्यक्ष थिईँन । उनी सारै सक्रिय र सामाजिक काममा अग्रसर थिईँन त्यसैले पनि अध्यक्ष थिईँन । तर क्लबको एउटा दुख्ख थियो, यो कुनै सरकारी अड्डामा दर्ता थिएन । असलमा त्यो क्लब क्लबको काम, कर्तव्य र अधिकारसम्म थाहा नभई क्लब बनेको थियो । अहिले लाग्छ- क्लबको काम पनि क्लबको भन्दा कुनै ठूलै संस्थाको जस्तो थियो । भुरेटाकुरे पार्टीको जस्तो थियो । क्लबको हर्ताकर्ता म थिएँ । र पछि गएर केही गतिलो गरोस् भन्ने अपेक्षा राखेको थिएँ । तर क्लब बिना दर्ता नै सकियो । त्यहीँ कतै दर्ता नभएको क्लबको अन्तिम लहड थियो-पुस्तकालय ।

 पढेको किताबहरू सुरक्षितसँग राख्ने ढङ्गको ठाउँ थिएन । तर पनि पुस्तकालय बनाउनु गारो लागेन(सनकको अघि सबै सम्भव छ) । स्कुलको पुस्तकालय देखेको थिएँ । आमाले पुस्तकहरू सुरक्षित राखिदिनु भएको थियो । त्यसलाई जम्मा गरेर एकठाँउमा राख्यो भने पुस्तकालय बनिहाल्छ ठानेको थिएँ । यस्तो थियो पुस्तकालय फर्मुला ! पुस्तकालय बन्यो पनि । पुस्तकहरू कुनै बाकसमा राखिएको थिएन । कुनै दराज वा र्याकमा राखिएको थिएन । टेबलमा राखिएको थिएन । आफ्नै घरको एउटा जिन्सी कोठामा पुगनपुग ७०/८० पुस्तकहरू डोरीमा तुर्लुङ्ग झुन्डिएका थिए । यसरी बनेको थियो लाईब्रेरी । यसरी बनेको थियो ह्याङ्गिङ्ग गार्डेन जस्तै ह्याङ्गिङ्ग लाईब्रेरी !


प्रिय ! पाठक
अब तपाईंलाई थाहा भई नै हाल्यो होला-किताब राख्ने ढङ्गको ठाउँ नहुँदा कस्तो लाईब्रेरी बनेको थियो भनेर । पुस्तकालय त बन्यो । तर पढ्न जो कोही मान्नेवाला थिएन । ब्रेनवास गराएँ, म्यानिपुलेट गरेँ । पढेन भने पृथ्वी पड्किन्छ भन्ने हदसम्म पुगेर डर देखाएँ । दन्त्य कथा, चित्र कथा(आमाले सायद यस्तै केही हेरेर पो चित्र बनाउन सिक्नु भएको थियो कि ?), प्रसिद्ध मान्छेका जीवनी, बाल कथा जस्ता आकर्षक किताब थपेँ । केही सानासाथीहरू म्यानिपुलेट भए । गाँउले नै पढिरहेको थियो । ति पढन्तेहरूले समाजलाई सुधार्ने छन् ठानेर म खुश थिएँ । तर त्यो नामुद दर्जाको उडन्ते अपेक्षा थियो । किनकि ती पढाकुमध्ये अधिकांशले एसएलसी अघि नै पढाइ छाडे । सस्तो मजदुर भए । कोही चुरोट, गाँजाको एडिक्ट भए । असलमा परिवर्तन किताब पढेर मात्र आउने कुरा थिएन । थोरै नै सहि `केही न केही दियो होला´ भनेर विश्वस्त हुन चैँ सकिन्थ्यो ।

 गाउँ अहिले पनि उस्तै छ । थोरै परिवर्तन अवश्य भएको छ । समस्या झन परिवर्तित/बहुआयामिक भएका छन । गाउँको लागि गरेका माथिका घटना/अनुभवबाट `वास्तवमै केही गर्न चाहने हो भने अझ गतिलोसँग लागिपर्नु पर्ने रहेछ´ भनेर सिकेको थिए...

४. 
त्यसपछि कविताहरू हिड्न थाले....

पठनले स्कूले पुरानो सपना सम्झाएको थियो । क्लब खोल्बाएको थियो । पुस्तकालय खोल्बाएको थियो । चपुरको `प्रगति बुक सेन्टर´को नियमित ग्राहक बनाएको थियो । जहाँ बसेर म कलेलबाट फर्किदा घण्टौँ पढ्थेँ । नियमित केही न केही किन्थेँ । काठमाडौंबाट रमेश दाईले आमालाई कल गरिरहनु हुन्थ्यो । म चैँ हरेककलमा दाईलाई किताबको लिस्ट थपिदिन्थेँ । पठनप्रतिको सम्मोहन देखेर होला । एकदिन स्टेशनरी संचालकले सोधेँ-`भाइ केही लेख्छौ पनि कि ?´ कविता लेख्दै राख्दै गरेको थिएँ । यो १२ कक्षातिरको कुरा थियो । `कविता लेख्छु...´ मैले भनेँ । तिनले भने-`मलाई ३ थान कविता दिनू । यहाँ एउटा साहित्यिक कार्यक्रम हुँदैछ । लगेर दिन्छु । राम्रो लाग्यो भने बोलाउछन् । नबोलाए यतैको लोकल पत्रिकामा छपाईदिन्छु ।´ उहाँलाई अर्को दिन केही थान कविता दिएँ । पठनप्रतिको सम्मोहन देखेर होला दशैमा रमेश दाई घर आउँदा किताब लिएर आउनु भएको थियो । जसलाई मैले धुमधामसँग पढेको थिएँ । एकदिन नोकिया सेटमा नयाँ नम्बरबाट कल आयो । रिसिभ गरेँ । कविता वाचनको लागि `अफर´ रहेछ । चपुरकै जुझारू साहित्यानुरागीले कार्यक्रम गर्न लागि पर्नु भएको रहेछ । ती साहित्यानुरागीसम्म मेरो कविता पुर्याउने भला मानिस थिए-अर्जुन हुमागाईँ । कार्यक्रममा गएँ । कविता सुनाएँ ।

कार्यक्रम ऐतिहासिक महत्वको रहेछ । त्यहीँ उपस्थित एक जनाले मैले वाचनपश्चात पाएको प्रमाणपत्र चारपाटे पारेर मोडेर खल्तिमा राख्न खोजेको देखेपछि झर्किदै सम्झाएका थिएँ । मैले त्यो आत्तिदै सम्झि टोपलेको थिएँ। त्यो कार्यक्रम वास्तवमै महत्त्वपूर्ण रैछ भनेर चै निकै पछि रियलाईज भयो । निकै पछि थाहा भयो त्यो त मेरो लगभग `एकल कविता वाचन´ रहेछ ! यो कार्यक्रमबारे घरमा कसैलाई थाहा थिएन । आमालाई पनि सुनाएको थिईँन । आमालाई मेरो हरेक `प्रगती´ सुन्न मनपर्थ्यो ।  यो कुरा पनि बल्ल रियलाईज गर्दैछु । त्यसरी आमालाई नसुनाएकोमा अहिले पश्चताप लाग्छ ।

कविताहरू मभित्र थिएँ । अब शरिरभरि हिड्न थालेका थिए । कविता समात्दै बोर्डिङ्ग पढाउन थालेँ । बोर्डिङ्ग १२ किलोमिटर पर थियो । बिहान ८:३० सम्म ब्याचलर पढ्न जान्थेँ । साईकलमा घर फर्किन्थेँ । घरमा के छ खाएर १२ किलोमिटर साईकल हाँकेर पढाउन पुग्थेँ । हरदिन जाऊ/आऊ गर्दा २५ किमी साईकल हाँक्दो रहेछु । त्यसरी साईकिल हाँक्दा लाग्थ्यो-स्कुल आऊ/जाऊ गर्दा नै सिङ्गै पृथ्वीको सत्र चक्कर लगाईसकियो होला ! त्यसरी चक्कर काट्न थालेको ६ महिनापछि बेजोडले बिमारी परियो । त्यो विश्व साईकलको  भागदौड छाडियो । अलि आमाले `खुकुरी प्रलोभन दिएको मालिक´कै बोर्डिङ्गमा पढाउने अवसर पाईयो । अवसर आमाको प्रलोभनले मिलेको थिएन । तर संयोगले त्यहीँ बोर्डिङ्गमा पढाउने अवसर मिलेको थियो । 

आफैँले पढाउन थालेपछि शिक्षणप्रतिको मोहभंग भयो । सम्भवतः प्राईभेट बोर्डिङ्ग नपरेको भए त्यो मोह कायम रहन्थ्यो होला कि ?! तर बोर्डिङ्गले मेरो `बाल्यकालिन आदर्श´लाई भक्कु गोदयो । आमाले एकदिन सदाझैँ भद्र लागेको मानिसलाई मेरो पढाईको विज्ञापन गर्नुभयो । त्यसपछि त्यो भद्रमानिसले जे भन्यो त्यो प्रज्ञानले म निजामती सेवामा आएँ । उसले भनेको थियो-`केटा लोक सेवा पढ । पास मात्र हुन नसकेर कति कोटा खालि गईरहेको हुन्छ । राम्रो पढ्दो रछस नाम निक्लिन्छ तेरो ।´ त्यो बाहुनको ज्ञानले मैले लोक सेवाको हुलिया चिनेको थिएँ । कालान्तरमा बोर्डिङ्ग छाडेँ । र लोक सेवाकै तयारीमा जुटेँ । संयोगले पहिलो तयारीमै नाम निस्कियो !

Comments

Popular posts from this blog

योद्धा आमालाई सम्झिएर-१

मनोज बिश्वकर्माको पन्ध्र प्रेम कबिताहरू