तपाईंको कित्ता कुन हो महोदय ?

 तपाईंको कित्ता कुन हो महोदय ?

          -मनोज बिश्वकर्मा

रूकुम हत्याकाण्डमा बेपत्ता भनिएका छ जनामध्ये ६ जनाको लास मारेर फ्याकिएको अवश्थामा भेटिसकेको  छ। पोष्टमार्टम रिपोर्टले पनि यस्तै भन्छ । अन्तरजातीय प्रेम सम्बन्धबाट उत्पन्न भएको यो नृशंस हत्या प्रकरणपछि अहिले सामाजिक संजाल स्पष्ट दुई खेमामा बाँडिएको देखिन्छ । एकथरि सामाजिक न्यायका पक्षमा उभिएका छन् भने अर्कोथरि यथार्थलाई ढाकछोप गर्न लागिपरेका छन्। हत्या प्रकरणको घटना विवरण बुझ्दा जातियता जोडिएको कुरा सामान्य-चेत हुने मानिसले समेत बुझ्न सक्छ । भलै कि यसमा अन्य कारणहरू पनि नभएका हैनन ।



 हिटलरलाई सरापेर नथाक्ने पनि यसबेला यथार्थलाई ढाकछोप गर्न असली अनुहारसहित उग्र नश्लवादी भएर निस्किएका छन् । यिनिहरू सामुहिक हत्या जस्तो बिषयमा यतिसम्म असंवेदनशिल र जातिवादी भएर निस्किएका छन् कि 'अरू सब भन तर दलित भएकै कारण मारियो नभन' भन्दैछन् । दलित भएकै कारण अजित मिजारको हत्या भयो ; लास ४ बर्षदेखि अस्पतालमै सडेर बसेको छ । जात नजोड भनेर के समाजमा यस्तो जातिय अपराध भएकै छैन भन्न खोजेको ? आफू बाँचेको समय/समाजप्रति यति बेखबर कसरी हुन सकेको ? आज पनि अखबारको भित्री पृष्ठ मन्दिर/धारा छोएको निहुँमा दलित कुटिएको , यो देशको नर्स/सांसदले दलित भएकै कारण कोठा भाडामा नपाएको' समाचार छाप्न अभिशप्त छ । यति घिनलाग्दोसँग जरा गाडेर बसेको छुवाछुत प्रथालाई जातिय अहमकै कारण हैन तपाईले अझै काधमा बोकेर हिडिरहेको ? तपाईले अनि कुन नैतिक आधारमा जातियता नजोड्नुस भन्न सकेको ?


सामाजिक संजाल व्यक्तिमार्फत समाजको असली अनुहार चिहाउने महत्त्वपूर्ण कडी हो । सामाजिक न्याय , समानता र समतापूर्ण समाज चाहने कवि , प्राध्यापक , बुद्धिजिवी पनि यहाँ नाङ्गै घुमिरहेका भेटिन्छन् । जब समाजमा सकारात्मक मार्गनिर्देश गर्नुपर्ने हुन्छ यि मनुवाहरू आफ्नो भडास , कुण्ठाको लुतो कनाउन मग्न हुन्छन् । उनीहरूको दमित चेतना यति दुर्गन्धीतसँग छरपष्ट भएका हुन्छन् कि पछिल्लो राजनैतिक/सामाजिक परिवर्तनप्रति 'ईगो' पालिरहेको अनुहार प्रष्ट देखिन्छ । पहिले उनीहरूलाई जी/हजुरी गरिरहेका , पहिले झुत्रेझाम्रे देखिने , पहिला उनीहरूकै पैतालामा गिडगिडाउनेहरू अहिले सहानुभूति हैन आत्मसम्मान खोजिरहेका छन् , सुकिलोमुकिलो भएका छन् , उनीहरू सङ्गै तर्कबितर्क गरिरहेका छन् । उनीहरूलाई फिटिक्कै मन परेको छैन । यि सब दृश्यले ति मुकुण्डोधारी मनुवाहरूको आत्मा भतभति पोलिरहेको छ ।अनि उनीहरू सामाजिक सद्भाव बिगारेको तुष पोख्छन् । एउटा समुदायको ढाडमा लडिबुडि गर्ने सामाजिक सद्भाव अब टिक्नेवाला छैन । टिक्नु नि हुदैन । 


  जब रूकुम हत्या प्रकरण सामाजिक संजालमा फैलिन थाल्यो । मुकुण्डोधारी कबि , लेखक  , प्राध्यापक , बुद्धिजिवीहरू त्यो हत्या प्रकरणलाई बाल विवाहसँग जोड्न खोजे , लकडाउन अवज्ञा , हुलदङ्गा , रातमा केटीको घर गएको कसुरसँग पनि जोड्न भरपुर परिश्रम गरे । त्यसको प्रतिवाद हुन थालेपछि 'यो घटनालाई जातियतासँग चै नजोड्' भन्न थाले । उनीहरू थप भन्दै थिए-'दलित शब्दले बिभाजन कोर्यो' , 'दलितले आरक्षण लिईराछन भने बिभेद भईहाल्छ नि' , 'दलितभित्रै बिभेद छ त्यो हटाऊ' जस्ता तर्कहरू झिक्न थाले । हत्या प्रकरणमा एउटा समुदायलाई लक्षित गरेर यस्तो तर्क आउनु अर्थपूर्ण छ । आउनुस त्यस्ता तर्कहरूको चिरफार गरौ...


क)दलित र ब्राह्मणवादको शब्दको साईकोलजी

१.दलित

दलित शब्दलाई लिएर दुई खालका बिचारहरू सतहमा आउछन् । एउटा खाले बिचार छ दलित शब्द हटाउनुपर्छ भन्ने ।  उनीहरूको मत अनुशार-'दलित शब्दले हामीबीच बिभाजन कोर्यो ।यसैले यो शब्दलाई शब्दकोष र संविधानबाट हटाउनुपर्छ । समानताको यात्रा शुरू गर्न यो शब्द बाधक छ ।' उनीहरू भन्छन्-'दलित शब्द हटाआैँ र फटाफट समानतातर्फ पाईला चालिहालौँ ।' उनीको मान्नु यो  छ कि-'दलित शब्द कायम गर्दा बिभिन्न राष्ट्रले त्यो शब्दसँग जोडिएका एनजिओ/आईएनजिओलाई गर्ने आर्थिक सहयोगबाट तिनका हर्ताकर्ताले घर-गाडी मात्र जोड्छन् ।थप्दै भन्छन्-"यो दलित शब्दले खास बहिष्करणमा परेका तथाकथित दलितलाई केही गरेन । केही गर्दैन । दुईचार टाठाबाठा सम्पन्न दलित भनाउदालाई टाईसुट लगाउन यो शब्द किन राख्ने ? हटाअौँ । यो नहटाई केही हुन सक्दैन ।" यति भनिसकेपछि चै उनीहरू दलितलाई बहिष्करणमा परेको समुदाय भनेर स्विकार्छन नत्र त्यो स्विकार्ने मुडमा हुदैनन् । उनीहरू एकदम स्पष्ट छन् शब्द हटाउनु मूल अस्त्र हो बिभेद हटाउन । जसमाथी सृजना ढकालको प्रतिकृया छ-'दलित मात्र किन नेपालकै नाम बदलेर अमेरिका राखिदिऊ रातारात नेपाल बिश्वकै सम्पन्न राष्ट्र हुन्छ ।' शब्द बदल्नुको खास तुक त छैन नि । जो सामान्य-चेत हुने मानिसले बुझ्छ । र पनि शब्द बदल्नुपर्छ/हटाउनुपर्छ भन्न छाड्दैनन् । यसको मूल कारण भनेको दलितहरू बिस्तारै मूलधारतर्फ अग्रसर भएको पचाउन नसक्नु हो । 



दलित शब्द हटाउनुपर्छ भन्नेमा शिव परियार , प्रमोद खरेल जस्ता गायकका अनुहार पनि आउछ बेला बेला । देशमा दिनहुँ उलटपुलट हुन्छ , उनीहरू बेखबर रहन्छ । अरू त छाडौँ दलितमाथीकै अमानवीय घटनाप्रति उनीहरूको मौनता ताज्जुप लाग्दो हुन्छ । जबकी यस्तो बेला आम मान्छे यिनको संवेदनशिल फ्यान-फलोअर्ससम्म यो घटना पुगोस भनेर मुख ताकिरहेका हुन्छन्। चासो भएको लाग्न 'दलित शब्दले दलिएको भन्ने जस्तो नकारात्मक भाव दिन्छ त्यसैले हटाउनुपर्छ' भनेर मात्र त हुने हैन होला । तर दलित शब्दलाई लिएर यि सेलिब्रेटी भावुक हुन्छन् । यो भावुकताको पछाडी दुईटा मनोबिज्ञान छ । एक 'उनीहरू त्यस्तै टाईपको बिचार बोक्ने बरिष्ठहरूले क्याच गरून' भन्ने ति ठान्छन् । अर्को महत्त्वपूर्ण कुरा 'धेरै नबुझ्ने आम मान्छेमाथी ईमोसनल ब्ल्याकमेल' गर्न चाहान्छन् । 



दलित शब्दलाई हटाउनुपर्छ भन्ने बाहेकको अर्को खाले बिचार हो-'दलित शब्द बहिष्करणमा परेको समुदायले आफैले आन्दोलन गरेर प्राप्त गरेको ऐतिहासिक उपलब्धी हो' भन्ने बिचार । आन्दोलन मूलत: बिद्रोही बिचारको अभिव्यक्ति हो । त्यसबाट प्राप्त उपलब्धिलाई स्थापित गराउदा जाने केहि हैन ।यस बिचारबाट दलित शब्द माथी भनिएको जस्तो बिभाजन कोर्ने , दलिएको जस्तो नकारात्मक बुझाउने शब्द हैन भन्ने चै स्पष्ट हुन्छ । 'माङ्गेना'मा युग पाठक भन्छन्-'अछुत , पानी नचल्ने शब्दको साटो मुक्तिको मुठ्ठी उठाउने मराठी शब्द हो दलित ।'



 शब्द चाहे शुद्र होस्  , दलित होस या शिल्पी समुह होस् । शब्दको प्रत्यक्ष सम्बन्ध भनेको यसले मस्तिष्कमा सृजना गर्ने visual सँग हुन्छ । यो दृश्य तपाईको उच्चारण , बोल्नुको पृष्ठभूमि , बोल्नुका कारण जस्ता ससाना कुराबाट निर्देशित हुन्छ । दलित शब्द नकारात्मक हैन नकारात्मक पारिएको चै हो । असलमा यि जुनै शब्द सफा नियतले भन्नुस ओके छ नि ! मैले अब भन्न खोजेको कुरा हो-शब्द जे होस् तर तपाई सामाजिक न्याय , समातापूर्ण समाज र सामाजिक सद्भाव स्थापित पार्ने कित्तामा उभिनु पर्यो । यसको बिपरित हुनुहुन्छ भने शब्द हटाअौँ , समानता ल्याअौँ जस्ता कुरा बेतुकको छ । शब्दमै सारा बिभेदको जड छ भन्ने तपाईको बुझाई सच्याउनुस ।



२.ब्राह्मणवाद 



हालै मैले एक जनाको पोष्टमा ब्राह्मणवाद शब्दको प्रयोग गरेर कमेन्ट गरेँ । यस शब्दप्रति चित्त नबुझेर एक कविले यो शब्द गलत छ भनेर लेखे । पछि स्टाटस नि आयो । यो शब्दलाई  गलत छ भन्ने कविलाई लाग्दो रहेछ ब्राह्मणबाट बनेको यो शब्दले समुदायलाई प्रहार गर्छ । यो बुझाईप्रति सिमा आभाषको ' पुरूषवाद र पुरूष , ब्राह्मणवाद ब्राह्मण फरक हुन्' भन्ने स्टाटसबाट स्पष्ट हुन सकिन्छ । 



ब्राह्मणवाद शब्दप्रति अर्को एक जनाको टिप्पणी छ-'यो शब्दले आम मान्छेमा जातीय वैरभाव सृजना गर्छ ।तर यथार्थ के हो भने आम मान्छेलाई शब्दले भन्दा बढि अर्थ राख्छ व्यबहारले , शब्दको अभ्यासले । 



यि दुई तर्क धेरैको प्रतिनिधि भाव हो ब्राह्मणवाद शब्दप्रति। यसमा मेरो भन्नु छ कि ब्राह्मण कुनै जन्मको अाधारमा प्राप्त जन्मजात उपाधी हैन । धर्मग्रन्थमै उल्लेख छ ब्राह्मण 'ब्रह्माण्ड जानेको Mental state(मानसिक अवश्था)' हो । यो जातिवादी शब्द हैन , गुणबोधक शब्द हो । यो शब्दलाई जन्मजात प्राप्त उपाधी ठान्ने पाखण्डले उच्चजातिय अहम सृजना गर्छ , उच्चजातिय अहमले समाजमा अपराधिक सोचको जथ्था खडा गर्छ ।



 जन्मकै आधारमा म उच्च हुँ तँ निकम्मा होस भन्ने सोच जुन वर्ण-व्यबश्थाबाट निर्देशित सामन्तवादी सोच हो । नेपाल लगायत दक्षिण-एशियामा यहि सामन्तवादी सोचको आधारमा ब्राह्मण/बाहुन ठालू पल्टिए । जन्मको आधारमा पाएको जातकै आधारमा 'ठालू पल्टिनेको' लागि , छुवाछुत जस्तो 'सडेको परम्परा बोक्नुपर्छ' भन्नेको लागि । यो सोच त्यहि सामन्तवादी सोचको अवशेष भएकोले ब्राह्मणवाद शब्द ठिक हुन्छ । यसो भन्दा यो शब्दले बाहुन समुदायलाई प्रहार गरेको ठहर्दैन । किनकि बाहुनवाद शब्दले दलित समुदायभित्रको बिश्वकर्माले परियारलाई सानो देख्ने , परियारले सार्कीलाई सानो देख्न प्रवृतिलाई समेत जनाउछ ।यो शब्द किन पनि ठिक हो भने यसले बिभेदकारी मानसिक अबशेषलाई जनाउछ । 



बाहुनसँग जोडिएर ब्राह्मणवाद/बाहुनवाद आयो । यसैले यो शब्द गलत छ भन्नु चै शब्द(शरिर)मा केन्द्रित भएर अर्थ(आत्मा)लाई नजरअन्जान गर्नु हो । शरिरमै अल्मलिनु बिद्वान अष्टाब्रक राजा जनकको सभामा पुग्दा त्यहाँका कथित बिद्धानहरू अष्टाबक्रको आठ ठाउँ बाङ्गिएको शरिरलाई हेरेर हाँस्नु जस्तो हो । शब्दको आवरण मात्र हेर्ने अर्थतिर जान नखोज्नुको सिधा साईकोलजी हुन्छ-आम मान्छेलाई अन्धकारमा राख्न खोज्नु। आम बुझाईको गलत फाईदा उठाएर समयलाई अझै पछाडी धकेल्नु अपराध हो । 



ख)दलितलाई आरक्षणको कुरा



राज्यबाट बहिष्करणमा परेको समुदाय , जात , लिङ्ग , क्षेत्रलाई मूलधारमा ल्याउन हो आरक्षणको अभ्यास गरिएको । आरक्षण एउटा बिकल्प हो , जसलाई संविधानले नै पुनरावलोकन गर्न सक्ने व्यवस्था गरेको छ । गणतन्त्र ल्याएको १३ बर्ष पुग्यो । गणतन्त्रसङ्गै भित्रिएको हो समावेशीता । यो १३ बर्ष अभ्यासका सकारात्मक पाटाहरू धेरै छन् । नकारात्मक असर चै पछिल्लो ४-५ बर्षमा यसप्रतिको गलत स्कूलिङ्गले सृजना गर्दैछ । अब नेपाली समाजको बस्तुनिष्ठ अध्ययन गरेर यस बिकल्पलाई 'पुनरावलोकन' गर्नु जरूरी छ ।



 राज्यले दयामा दिएको होईन आरक्षण। आरक्षण ति समुदाय , जात , लिङ्ग , क्षेत्रको लामो सङ्घर्षको उपलब्धी हो । सङ्घर्षको उपलब्धी दया हैन हक हो । जब राज्य आरक्षणको बिकल्प अवलम्बन तयार भयो । यो सङ्गै केहि बुद्धिजिवी मेरिटोक्रेसीको हवाला दिदै बिपक्षमा उत्रिए । 'हो न हो देश अब निकम्मा जनशक्तिको  हातमा जाने भयो' भनेर केही बहिष्करणमा पारिएका समुदाय पनि तिनकै पछि लामबद्ध भए । खासमा ति बुद्धिजिवी एउटा भीडको नेतृत्त्व गर्दै थिए । त्यसमा बहिष्करणमा पारिएका समुदाय पनि अलमलिन पुगेका थिए । ती बुद्धिजिवीहरू स्पष्टसँग भन्न चाहिरहेका थिए-'खस/आर्य पुरूषवादी पहाडीया अहमकारी समुदाय' हो राज्य सत्ता र प्रशासनमा हुनु पर्ने । तर उनीहरू भन्दै थिए-'बहिष्करणमा पारिएका समुदाय निकम्मा छन्।'





यो 'मेरिटोक्रेसी' अहिले पनि बेला बेला सतहमा आउछ । रूकुम हत्याकाण्डमा 'दलित' शब्द जोडिएपछि त्यस्तै भयो । बर्षौदेखि रहेको दलित समुदायप्रतिको कुण्ठा , दमित चेतना आरक्षणको आडमा व्यक्त भए । जबकी आरक्षण दलितको लागि मात्र हैन व्यवस्था गरिएको । ( खस-आर्य समुदायको पछिल्लो/बाउ पुस्ता जो आफ्नो/सन्तानको भाग खोसियो भनेर उग्र छन । उनीहरूको लागि पनि यो संविधानले लगभग ५०% आरक्षण सुरक्षित राखिदिएको छ । नत्र हिसाब गरेर हेर्नुस ! कुल १००% को ५५% खुला र ४५% समावेशीलाई हुन्छ । अनि समावेशीको ४५% लाई १००% मानेर ३३% महिलालाई ५%  अपाङ्गलाई  ४%  पिछडिएको क्षेत्रलाई छुट्टाएर लचिलो हिसाब गर्नुस । के खस/आर्यको जनसङ्ख्या र आरक्षणको % ठिक छैन ? छैन लाग्छ भने तपाई 'सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली' चाहनुहुन्न। स्पष्ट छ ! )



कुण्ठा व्यक्त गर्ने क्रममै शुरू भएको थियो-दलित शब्दमाथीको उठापटकी , आरक्षणको कुरा , दलितभित्रै रहेको आन्तरिक बिभेदको कुरा । हत्या प्रकरणको दोषीलाई सजायको पक्षमा उभिन छाडेर उनीहरू दलित समुदायलाई पाठ सिकाउन खोजिरहेका थिए । यति गरिसक्दा पनि उनीहरू आफू जातिवादी हुँ भनेर स्विकार्न चै तयार थिएनन ।बरू यसै गरि खेदो खनेर हो 'समाज सेवा' गर्ने ठान्दै थिए । उनीहरू यो किसिमको क्रान्ति गर्न यति अथकसँग परिश्रम गर्दै थिए । उता उनीहरू आफैले सामाजिक सद्भावका नाममा लेखेको लेख/कबिता/गजलको धोती फुक्लिसकेको थियो । 



कतिपयलाई लाग्छ आरक्षण जात हैन वर्गको आधारमा गरिनुपर्छ । यो तर्क गर्नेको सोझो बुझाई हुन्छ आरक्षण जातको आधारमा दिईयो भन्ने । माथी नै उल्लेख गरिसके आरक्षण जातको आधारमा मात्र हैन। तर पनि मान्छे 'जातको आधारमा' भन्ने गलत बुझाई फैलाउन अथक परिश्रम गरिरहेका छन् । यस्तै परिश्रमी एकजनाले ट्विट गर्यो-'जबसम्म दलितले कोटा पाउछ तबसम्म म बिभेद गर्छु' भन्दै । त्यहाँ पुगेको रि-ट्विटको सङ्ख्या हेर्दा लाग्थ्यो हामी अधिकांशको धारणा छ-दलितहरू समृद्ध जीवन बाँच्छन र पनि आरक्षण लिन्छन् । आफ्नै समाजको नाङ्गो दृश्य हेर्दा के हामी दलितले समृद्ध जीवन बाँचेको चित्र देख्न सक्छौँ ? सक्दैनौ ! फेरि यो किसिमको दुषित बिचार किन ? हो गरिब दलित  समुदायमा मात्र छैनन । अन्य समुदायमा पनि छन् ।सामाजिक रूपमा पछाडी परेकाहरू अरू समुदायमा पनि छन । तर दलित समुदायले जातकै अाधारमा अमानवीय बिभेद झेल्नु परेको ईतिहास र बर्तमान बिर्सिन मिल्छ ? जात-व्यबश्थाको जातोमा पिसिएर दलित सामाजिक , आर्थिक , राजनैतिक , सांस्कृतिक पाटोमा पछाडी पारिएको यथार्थलाई नजरअन्दाज गर्न मिल्छ ? नेपाली समाजको अर्को यथार्थ चरित्र हो दलित समुदायको जातसङ्गै प्रतिबिम्बित हुने बर्ग । नेपाली समाजका दलित जुन भू-भागका हुन ती सामन्त वर्ग चै थिएनन् । तिनिहरू श्रमिक नै हुन।





ग)दलितभित्रको आन्तरिक बिभेद



"कामीले दमाईले छोएको खादैन

दमाईले सार्कीले छोएको खादैन...

.....................

...............

अनि तिमीहरू भन्छौ हामीले बिभेद गर्यौ ? पहिला आफैभित्रको बिभेद हटाउ ।" एकजना फेसबुके मित्रको स्टाटस थियो यो । हर किसिमको जातिय बिभेद अपराध हो । 'पहिला आफैभित्रको बिभेद हटाउ' भन्ने मानसिकतामा 'त्यतिञ्जेल म चै ढुक्कले बिभेद गर्छु' भन्ने स्वार्थ लुकेको हुन्छ ।



आन्तरिक बिभेदको प्रसंग हिन्दु धर्मको वर्ण-व्यवस्थासँग जोडिएर आउछ । वर्ण-व्यवस्था हिन्दु धर्ममा ब्राह्मण/बाहुन , क्षेत्री , बैश्य , शुद्र भनेर निर्धारण गरिएको छ । बाहुनभित्र आन्तरिक जात-व्यवस्था छ जैसी र उपाध्याय भनेर । जैसी र उपाध्याय पनि पुर्बिया र कुमाईमा विभाजित छन् । यहाँभित्रको आन्तरिक बिभेदलाई प्रा. बालकृष्ण पोखरेलको पुस्तक 'खस जातिको इतिहास'मा भनिएको छ-'श्री ५ सुरेन्द्रले(श्री ३ जङ्ग बहादुर राणा) मुलुकी ऐनमा जैसीलाई कम मर्यादित ब्राह्मणको तहमा राखेकाले नेपालमा जैसी ब्राह्मणलाई नपुज्ने चलन चलेको छ।' उनी थप भन्छन-'यो जातिय बिखण्डन सृजना गर्न गरिएको थियो ।' जातिय बिखण्डन र आन्तरिक बिभेद सृजना गर्न गरिएको भएता पनि एउटा कुरा स्पष्ट छ-बाहुनभित्रको बिभेद दलितमाथी हुने अमानवीय बिभेद जस्तो होईन । 



यता शुद्र जो दास , अछुत हुदै दलित भनेर चिनिन्छन भित्र त्यस्तै जातिय पदसोपान (Racial hierarchy) छ । यसैले दलितभित्र पनि आन्तरिक बिभेद छ । यो आन्तरिक बिभेद दलित आफैले सृजना गरेको नभई जङ्ग बहादुर राणाले बि.सं. १९१०मा ल्याएको मुलुकी ऐनको उपज थियो । मुलुकी ऐनमा पृथ्वीनारायण शाहले ल्याएको 'असली हिन्दुराज्य'को

अवधारणालाई जात व्यवस्थाको आधारमा थप मजबुत बनाउन 'कुन जातिले के गर्ने ? के नगर्ने ? कसले छोएको कसले खान हुने? कसले खान नहुने ?'जस्ता साना साना कुरालाई समेटेको छ। यसले समाजमा हुदै नभएको बिभेद अचानक भित्र्याएको थिएन । तत्कालिन समयमा रहेको बिभेदलाई कानुनद्धारा थप व्यवस्थित गरेको थियो । यसकै लामो समयको अभ्यासको परिणाम हो दलितभित्रको आन्तरिक बिभेद । यसले एकातिर दलितमा पनि बेतुकको जातिय अहम सृजना गरेको छ भने अर्कोतिर उनीहरू आफैमाथी भएको बिभेदबिरूद्ध एकजुट हुन सकिरहेका छैनन । अबको पुस्ता मुलुकी ऐनको यो पोलिटिक्सबाट बाहिर निस्किन जरूरी छ ।  



जातिय पदसोपान र त्यसको आधारमा हुने बिभेद मधेसी र नेवारी समुदायमा पनि देख्न सकिन्छ । यि समुदायको जात-व्यवस्थामा के स्पष्ट छ भने जातिय पदसोपानको सबभन्दा तल पर्ने दलितमाथी अपराधीक बिभेद हुन्छ । 'तिमीहरू भित्रै बिभेद छ । त्यो हटाउ पहिला' भनेर अब कसैलाई पनि जातिय बिभेदमा संलग्न हुने छुट छैन । कानुनत: छैन नै सामाजिकरूपमा पनि जातिय बिभेद गर्नेलाई बहिष्कार गर्न ढिला भईसकेको छ । 



घ)जातिय बिभेदको सारसंक्षेप 



जातीय बिभेदको ईतिहास खोज्ने हो भने वैदिक कालभन्दा अघिसम्म पुग्न सकिन्छ । प्रा. बालकृष्ण पोखरेलको 'खस जातिको इतिहास'मा उल्लेख भएका वैदिक जातहरूको लिस्ट हेर्दा यस्तै निष्कर्ष निस्कन्छ । जब कानुन थिएन तब समाज संचालनको आधार धर्मग्रन्थ थिए । बिभेदपूर्ण समाजको नक्शा कोर्न चै हिन्दुहरूको धार्मिक ग्रन्थ मनुस्मृतिको सबभन्दा बढि योगदान छ दक्षिण एशियामा । मनुस्मृतिमा त कसले कति वटा पत्नि राख्न पाउने भन्ने निर्धारण पनि वर्णको आधारमा छ । मनुस्मृतिको वर्ण-व्यवस्थाले जर्जर भएको समयमा आएको थियो गौतम बुद्धको वर्ण-व्यवस्थाबिहिन क्रान्तिकारी बिचार । त्यसले धेरै शुद्र/दास/दलितलाई पुन:जीवन दिएको थियो । तर पनि यो बिचारधारा धेरै फैलिन सकेन । 





 वर्ण व्यवस्था हुदै जात व्यवस्थासम्म आईपुग्दा यो व्यवस्था झनझन कठोर झनझन अपराधिक हुदै आएको पाईन्छ । नेपालमा जयस्थिति मल्लले छुवाछुत भित्र्याए । त्यसलाई पृथ्वीनारायण शाहको समयमा 'असली हिन्दुराज्य'भित्र समेटियो । यसलाई बि.सं. १९१० मा जङ्ग बहादुर राणाले मुलुकी ऐनमार्फत थप व्यवस्थित पारे । मानव सभ्यताको यो कलंकमाथी राज्य तह नै पहिलोपल्ट बिपक्षमा देखिएको बि.सं. २०२० सालमा हो । तर यो पनि छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने भन्दा खासमाथी चै उठ्न सकेन । त्यसपछि छुवाछुत तथा जातिय बिभेद रोक्न नेपालको अन्तरिम संविधान-२०६३ को योगदान महत्त्वपूर्ण छ । हालको संविधान अझ प्रगतिशील भएर 'दलितको हक' भनेर मौलिक हकमै व्यवस्था गर्न उभिएको छ । तर देशको मूल कानुन मानिने संविधानमै'कानुन बनाएर लागू गरिनेछ' वाक्य राख्नुले चै राज्यको अनुदार अनुहारतर्फ संकेत गर्छ । समानुपातिक-समावेशी प्रणालीको अवलम्बन गरेर बहिष्करणमा पारिएको समुदायलाई मुलधारमा ल्याउन खोज्नु अवश्य सुन्दर हो। तर रूकुम हत्याकाण्डको दोषीलाई सजायको माग गर्न भेला भएका मानिसको आवाज बन्द गर्न दमनमा उत्रिएको सरकारको अनुहार र  यो संविधान लागू भए सङ्गै निराश भएका 'संरचनागत लाभमा' लिप्त जत्थाको अनुहार ठ्याक्कै उस्तै देखिन्छ ।  





ङ)तपाईको कित्ता कुन हो महोदय ?



सामाजिक संजालको एउटा जत्था रूकुम हत्या प्रकरणको दोषीलाई सजायको माग गर्न छाडेर पछिल्लो सामाजिक/राजनैतिक परिवर्तनप्रतिको कुण्ठा र दलित समुदायमाथी हमला गर्न उत्तेजित भईरहेको थियो , छ । यो देखेर सम्पदा रिजालले लेख्नुभयो-'तपाईको कित्ता कुन हो स्पष्ट पार्नुस !' म पनि सोध्न चाहन्छु-'तपाईको कित्ता कुन हो महोदय ? अनुहार भरि कुण्ठाको धब्बा पालेर किन सामाजिक न्याय , सद्भावको कविता/गजल/गीत/लेख लेख्नुहुन्छ ?' आफ्नो मुकुण्डो उतार्नुस । सहानुभूति हैन सकारात्मक संवाहकपनको हो जरूरी । त्यसरी हो प्रगतिशील हुने । त्यसरी हो आफू बाँचेको समय कलंकको रूपमा रहेको जातिय छुवाछुतको बिरूद्ध उभिने ।

Comments

Popular posts from this blog

मोह मोह के धागे....

योद्धा आमालाई सम्झिएर-१

मनोज बिश्वकर्माको पन्ध्र प्रेम कबिताहरू